Thaha

Sunday 22 September - 11:26 am NST

सिमानाका चाँडो सहज बनाउन प्रचण्डको मोर्चालाई आग्रह


काठमण्डौं, १३ माघ । 
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाँडोभन्दा चाँडो सीमा नाका सहज बनाउन मधेसी मोर्चालाई आग्रह गर्नुभएको छ । आज आफ्नै निवास लाजिम्पाटमा भेट्न पुगेका तराई–मधेस लोकतान्त्रिक पार्टीमा उपाध्यक्ष हृदयेश त्रिपाठीमार्फत् प्रचण्डले आन्दोलन टुंग्याएर छिटो नाका खुलाउन आग्रह गर्नुभएको हो । संविधानको पहिलो संशोधनबाट समानुपातिक समावेशीता र जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने कुरा ग्यारेन्टी भइसकेको प्रचण्डले उल्लेख गर्नुभयो । मोर्चाले उठाएको मुख्य सीमांकनको मुद्दा राजनीतिक समिति बनाएर टुंगोमा पुग्न दुई नेता सहमत भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

तमलोपाका उपाध्यक्ष त्रिपाठीले आफ्ना अध्यक्ष महन्थ ठाकुर भारतबाट फर्किएपछि सीमांकनको विषयमा कुराकानी गर्ने बताउनुभएको थियो । ठाकुर उपचारका लागि भन्दै भारत जानुभएको छ । मधेसी मोर्चाले संविधानका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै पाँच महिनाभन्दा बढी समयदेखि आन्दोलन गर्दै आएको छ । सीमांकन हेरफेरसहित आफूहरुको माग एकमुष्ठ सम्बोधन हुनुपर्ने माग गरिरहेको मोर्चाले पछिल्लो समय आन्दोलनलाई खुकुलो बनाउँदै लगेको छ ।

हिजै मात्र काठमाडौंमा भएको कार्यक्रममा मोर्चाका नेताहरुले नाकामा आफूहरुको आवरोधले जनजीवन प्रभावित बनेको भन्दै यही माघ १८ पछि आन्दोलनको स्वरुप परिवर्तन गर्ने बताएका थिए ।